तेमाल गाउँपालिकाकाे संक्षिप्त परिचय

काभ्रेपलान्चोक जिल्लाको पूर्वमा रामेछाप र दोलखा, पश्चिममा काठमान्डौं, ललितपुर र भक्तपुर, उत्तरमा सिन्धुपलान्चोक र दक्षिणमा सिन्धुली र मकवानपुर जिल्ला पर्दछन् । पूर्वमा सुनकोशी, पश्चिममा नगरकोट डाँडा एंव साँगा भञ्ज्याङ्ग, उत्तरमा इन्द्रावती एवं सुनकोशी नदी र दक्षिणमा कोखाजोर  एवं खानी खोलाले वेष्टित यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ ।
यस जिल्लामा ७ वटा गाउँपालिका र ६ वटा नगरपालिका छन् । ७ गाउँपालिका मध्ये तेमाल गाउँपालिका एक हो । जिल्लाको अरु गाउँपालिका भन्दा पृथक रहेको तेमाल गाउँपालिका सदरमुकामबाट ४० कि.मि. दुरीमा रहेको छ । साविकका ७ गा.वि.स.हरु मिलेर बनेको तेमाल गाउँपालिकामा साविक सस्र्यूंखर्कलाई १ र २ नं वडामा विभाजन गरिएको छ ।  साविक सरमथलीलाई वडा नं ३, साविक बोल्देफेदिचेलाई वडा नं ४, साविक पोखरीनारायणस्थानलाई वडा नं ५, साविक ठूलोपर्सेललाई वडा नं ६, साविक कुरुवास चापाखोरीलाई वडा नं ७ र साविक मेच्छे गाउँलाई वडा नं ८ र ९ मा विभाजन गरिएको छ । यसरी यस गाउँपालिकामा हाल ९ वटा वडाहरु रहेका छन् । 
      गाउँपालिकाको पूर्वमा चौरी देउराली गाउँपालिका र रामेछाप जिल्ला, पश्चिममा रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिका, उत्तरमा चौंरी देउराली गाउँपालिका, भुम्लु गाउँपालिका र पाँचखाल नगरपालिका, दक्षिणमा रोशी गाउँपालिका र सिन्धुली जिल्ला रहेका छन् । गाउँपालिकाको क्षेत्रफल ८९ वर्ग किलोमिटर रहेको छ भने २०६८ सालको जनगणनाको आधारमा २२,७१२ जनसंख्या रहेको छ । यस गाउँपालिकाको पोखरीनारयणस्थान स्थित नारायणको ऐतिहासिक मन्दिर, सोही परिसरमा रहेको बौद्ध, स्वयम्भू र नमोबुद्ध स्तुपाहरु, तोङसुम कुण्ड, कुरुवास चापाखोरीमा रहेको सन्तानेश्वर महादेवको मन्दिर धार्मिक पर्यटनको हिसाबले प्रचुरता बोकेको स्थानको रुपमा परिचित रहेको छ । त्यसै गरी तेमाल गाउँपालिका अन्तर्गत रहेको वडा नं ४ बोल्दे स्थित सुनकोशी किनारमा रहेको भिम पाइला, वडा नं ६ ठूलोपर्सेल भ्ँञ्ज्यााङ्मा रहेको गौखुरु, लोपोन्मुख रुपमा रहेका पौराणिक स्थलहरु हुन् जसको संरक्षण र सम्बद्र्धन गर्नु गाउँपालिकाको महत्वपूर्ण जिम्मेवारीका रुपमा रहेको छ । यसका साथै तेमाल गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा रहेका पौराणिक र धार्मिक मन्दिरहरु, गुम्बाहरु पनि संरक्षण र सम्बद्र्धन गर्नु नितान्त आवश्यक छ । तेमालको उच्चस्थलबाट कञ्चनंजा देखि धौलागिरी सम्मका हिमश्रृंखलाहरु लहरै देख्न सकिन्छ । तेमालकै डाँडाबाट  काठमाण्डौ उपत्यका र सिन्धुली गढी समेत देख्न सकिन्छ । 
बौद्ध धर्मालावलम्बीहरुको अत्यधिक बसोवास रहेको यस गाउँपालिकामा हिन्दु र इशाई धर्मावालम्वीहरुको समेत बसोबास रहेको छ । हाल बहुसँख्यक तामाङ्ग समुदाय रहेको यस क्षेत्रमा व्राम्हण, क्षेत्री, नेवार, मगर तथा दलितका सँथ्ँै सिमान्तकृत जनजाति माझीहरुको समेत बसोबास रहेको छ । यहाँका नागरिकहरुले कृषि, पशुपालन, पर्यटन व्यवसाय एवं धार्मिक महत्व बोकेको बोधी चित्तमालाको खेती एवं व्यवसाय र व्यापारलाई मुख्य पेशाको रुपमा  अँगाल्दै आएका छन् । यस गाउँपालिका सुनकोशी र रोशीको किनारादेखि तेमालको डाँडासम्म फैलिएकोले विशेष गरी माथिल्लो भागमा बासोबास गर्ने बासिन्दाहरुका लागि पिउने पानीको 
समस्या रहेको पाइन्छ । यहाँको उत्पादनले खासै जनताको जीवनस्तरलाई धान्न सक्ने अवस्था छैन । मौसमी भरमा खेती हुने भएकोले कहिले अनावृष्टि, कहिले अतिवृष्टि, कहिले खण्डबृष्टि त कहिले खडेरीको मारले किसानहरु कृषि व्यवसायबाट खासै लाभान्वित हुन सकिरहेका छैनन् ।  भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस गाउँपालिकाल्ँँई एक सक्षम गाउँपालिकाको रुपमा स्थापित गर्ने चुनौति समग्र गाउँवासी तथा सरकारी र गैरसरकारी निकायहरुको काँधमा आई परेको छ । यहाँ भएका सम्भावनाहरुलाई अवसरको रुपमा परिणत गर्न र यहाँ रहेका समस्याहरुको न्यूनीकरण गर्ने क्रममा योजनावद्ध तौरवाट लाग्नु पर्ने आवश्यकता देखिन्छ । 
यस कारण तेमाल गाउँपालिकाले क्रमशः यस क्षेत्रको समग्र विकासको लागि पहलहरु गर्दै लैजान हरेक वर्ष वार्षिक रुपमा योजना तथा कार्यक्रमहरु तयार गरी अगाडि वढ्ने जमर्को गरेको छ । यसैक्रममा नवनिर्वाचित जनप्रतिनिधीहरु, बिषयगत कार्यालयका प्रतिनिधी, गैरसरकारी निकायका प्रतिनिधी, नागरिक समाज एवं सरोकारवाला सबैको सक्रिय सहभागितामा आर्थिक वर्ष २०७४÷७५ को लागि वार्षिक नीति तथा कार्यक्रम तयार गरिएको छ । 
सिमाना    पूर्वमा  : चौरी देउराली र रामेछाप जिल्ला 
           पश्चिममा : रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिका 
           उत्तर : चौरी देउरालीगाउँपालिका, भुम्लु गाउँपालिका र पाँचखाल नगरपालिका
           दक्षिण    : रोशी गाउँपालिका र सिन्धुली जिल्ला 
उचाई    : समुन्द्री सतह बाट १८९० मिटर 
क्षेत्रफल   : ८९ वर्ग कि.मी. 
लम्बाई    : सरदर १० कि.मि.
हावापानी : समसितोष्ण (मध्यम पहाडी वातावरण)
केन्द्र : साविक पोखरीनारायणस्थान गा.वि.स. को कार्यालय